नेपाल–चीनबीचका ७ नाका

Wednesday, November 18th, 2015 at 4:35 pm विचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

भारतले नेपाललाई नाकाबन्दी गरेपछि चीनले नेपालसँग आयात–निर्यात सहज बनाउन थप ७ वटा सीमानाका खुलाउन सहमति जनाएको छ । यी नाका सञ्चालनमा ल्याउने सिलसिलामा सम्भाव्यता अध्ययन गर्नसमेत नेपाल–चीनबीच हालै २० बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

चीनतर्फका नाकाहरू खुलाउन र ती नाका जोड्ने सडकहरूको गुणस्तर बढाउन तत्कालै स्थलगतरूपमै कार्य प्रारम्भ गर्नसमेत व्यवस्थापिका संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चीनसँग व्यापार वाणिज्य कारोबार गर्न निकै पहिलेदेखि कोदारी–खासा र केही अघिदेखि रसुवागढी–केरुङ नाका सञ्चालनमा रहेका छन् । व्यापारिक प्रयोजनका निम्ति अब खोलिने ७ नाका ओलाङचुङगोला, किमाथांका, लामाबगर, लार्के, कोरोला, नग्चा र हिल्सा रहेका छन् । यी ७ नाकाको भौगोलिक अवस्थिति, प्राकृतिक वातावरण, आवतजावत परिस्थिति केकस्तो अवस्थामा रहेका छन्, त्यसको लेखाजोखा यस लेखमा गर्ने प्रयास गरेको छु ।

ओलाङचुङगोलाः ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला भएर तामाकोसीको तिरैतिर सीमानाका टिपताला भञ्ज्याङ पुगिन्छ । यसको दूरी करिब ९५ किलोमिटर छ । टिपतालानजिकै चीन(तिब्बत) को भूभाग सिङ्म्यागाजे हो । यहाँबाट चीनको रिवा बजार जोड्ने २२ किमी ग्राभेल सडक रहेको छ । गाडीमा लगभग डेढ घन्टामा रिवा पुगिन्छ । रिवाबाट डिङ्गे, झानझोमको पक्की सडक हुँदै सिगात्सेमा रेल भेटिन्छ । यहाँबाट रेलमार्गद्वारा ल्हासा तथा चीनको अन्य भाग पुग्न सुगम छ ।

नेपालतर्फ भने झापाको काकडभिट्टाबाट आएको सडक फुङलिङ सुकेटारसम्म पुगेको छ । अधिकांश सडक कच्ची छ । सडकले फुङलिङलाई टिपताला भञ्ज्याङसँग जोड्न सकेको छैन । यद्यपि, सडक निर्माणको काम सुरु भएको छ । यो सडक बनिसकेपछि मेची राजमार्गले काकडभिट्टापूर्व भारतको पानीट्यांकीलाई चीनको रिवा बजार जोड्ने छ । यो सडकको लम्बाइ करिब ३ सय ६० किलोमिटर हुनेछ । यसै सडक भद्रपुर हुँदै भारतको गलगलिया रेलवे स्टेसनमा पनि जोडिन सक्छ । टिपताल भञ्ज्याङ सीमानाका ५ हजार ९५ मिटर अग्लो भएकोले हिउँद्मा हिउँ पर्छ । यसैले हिउँद्मा यातायात आवागमनमा वाधा पर्न सक्छ । हिजोआज सतहमार्गबाहेक सुरुङमार्ग प्रविधिवाट पनि सडक निर्माण गर्न सकिने भएकोले नयाँ प्रविधि अपनाइए बाह्रै महिना यातायात सञ्चालन हुनसक्छ ।

किमाथांकाः संखुवासभा जिल्ला सदरमुकाम खाँदबारीबाट अरुण नदीको किनारैकिनार बन्ने सडक मार्गले सीमामा रहेको किमाथांका नाका हुँदै तिब्बतको सीमावर्ती वस्ती लेङ्दुप/च्यांगा छुन पुग्छ । लेङ्दुपबाट ३० किमी कच्ची सडकद्वारा रिवा बजार जोडिएको छ । रिवा बजार पुगेपछि पक्की सडक र रेलमार्गद्वारा चीनको जुनसुकै भागमा जान–आउन सकिन्छ । नेपालतर्फ विराटनगरबाट धनकुटा–हिलेसम्म पक्की सडक छ । धनकुटा लेगुवाघाटबाट खाँदबारीसम्म जेनतेन कच्ची सडक जोडिएको छ । यहाँबाट किमाथांका सीमानाकातर्फको १ सय १३ किमी सडक बन्न सुरु भएको छ । तर, कहिले पूरा हुने हो भन्न सकिन्न । यो सडक निर्माण भइसकेपछि २ सय ८१ किमी लामो कोसी राजमार्गले चीनको रिवा बजार र भारतको जोगबनी जोड्नेछ । हालै ७ वटा नाका खोल्ने सहमति भएमध्ये यो सीमानाका अरुण नदी घाँटीमा भएकोले टिपतालाभन्दा होचो अर्थात् २ हजार २ सय ४८ मिटरको उचाइमा रहेको छ । त्यसैले हिउँद्मा पनि व्यापार वाणिज्य सञ्चालन गर्न वाधा पर्दैन ।

लामाबगरः दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै तामाकोसीबाट उत्तरतर्फ तामाकोसी जलविद्युत् आयोजना जान लामाबगरसम्म ६८ किमी कच्चीसडक बनेको छ । लामाबगरबाट उत्तर लाप्चिपुल र त्यसपछि जुम खोलैखोला पूर्वतर्फ मोडिएर सीमाखम्बा नं. ५१ नजिकसम्म सडक निर्माण गर्नुपर्ने हुन्छ । यो प्रस्तावित सडक लगभग ३१ किमी हुनेछ । तिब्बततर्फको फलेकबाट नेपालको सीमा आउन पैदल बाटोमात्र छ । तर, फलेकबाट मोटर सडक सुरु भई रोङ्सार, गांग्या बजार, टिङ्री, चापु हुँदै सिगात्से, ल्हासा जोडिएको छ । नेपालतर्फ चरिकोटबाट तामाकोसी खोलैखोला दक्षिणतर्फ सडक निर्माण गरी त्यसलाई बीपी राजमार्गमा जोडेर अन्ततः जनकपुर, जलेश्वर हुँदै भारतको भिठामोड छुनपुग्छ । यसबाट चीनको फलेक र भारतको भिठामोडबीच सडकसम्पर्क हुनसक्छ । यो सडक करिब २ सय ४० किमी लामो हुनेछ । लामाबगरबाट सीमाको जुम खोला नजिकैसम्म १ किमी सुरुङमार्ग बनाइएमा चीन र भारत जोड्ने सबैभन्दा छोटो २ सय २० किमीको सडक हुनेछ । स्मरणीय छ, यो सडक नै नेपाल भएर भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको हुनेछ । किमाथांका–जोगबनी सडकचाहीँ दोस्रो छोटो हुनेछ । लामाबगर सडकको सबैभन्दा अग्लो भाग २ हजार ५० मिटर छ । त्यसैले यो मार्ग बाह्रै महिना सञ्चालन हुनमा मौसमले वाधा पार्दैन ।

गोरखा लार्केः लार्के नाकाबाट सडक यातायात खुलाउन गोरखा सदरमुकमबाट उत्तर दरौँदी खोला किनार हुँदै बारपाक र लाप्राकनजिकबाट बुढीगन्डकी खोलैखोला सामागाउँ छोएर लार्केको लज्याङ भञ्ज्याङसम्म सडक पु¥याउनु आवश्यक पर्छ । यो प्रस्तावित सडकको लम्बाइ करिब १ सय ५० किमी रहने छ । सडकको सबैभन्दा अग्लो भूभाग ५ हजार ९८ मिटर रहेको छ । लार्केबाट तिब्बततर्फको कुङ्टाङ बजार पुग्न १५ किमी पैदल बाटो र ४५ किमी पक्की सडक रहेको छ । यो सडकले झोङ्बा सहरमा ल्हासा राजमार्ग भेटेको छ । गोरखाबाट चीनको नाका जोड्ने अर्को सम्भावित वैकल्पिक मार्ग पनि रहेको छ । यो मार्ग बूढीगन्डकी किनारको लुकुवाबाट छेकम्पार हुँदै थाप्ले भञ्ज्याङ पु¥याएर तिब्बत जोड्न सकिन्छ । यसको लम्बाइ लगभग १ सय ४० किमी हुन्छ । अधिकतम उचाइ ५ हजार १ सय ४ मिटरको भूभाग भएर गोरखा लार्के सडक जाने भएकोले हिउँद्मा यातायातका साधन ल्याउन–लैजान अप्ठेरो खेप्नुपर्ने देखिन्छ ।

नेपालतर्फ गोरखाबाट दक्षिण मुगलिङ, नारायणघाट, भरतपुरसम्म ६० किमी पक्की सडक छ । यसपछि यस सडकलाई पूर्वको वीरगन्ज तथा पश्चिमको बुटवलतर्फ नबढाइ दक्षिणतर्फ माडी उपत्यका र चितवन राष्ट्रिय निकुञ्ज हुँदै भारतसँगको सीमानाका भिखनाठोरी जोडिए यसको आफ्नै ठूलो महŒव रहनेछ । नारायणघाटदेखि ठोरीसम्म २ सय १० किमी कच्ची सडक रहेको छ र बस सेवा पनि सञ्चालित छ । लार्केदेखि ठोरीसम्मको सडक मार्गको बाँकी खण्ड निर्माण पूरा भएपछि यसको लम्बाइ करिब ४ सय २० किमी हुनेछ । यस सडकसम्बन्धी महŒवपूर्ण कुरा के छ भने, लार्के नाकाबाट तिब्बत जोड्ने सडक खुलेमा यसले भारतको भिखनाठोरी रेलवे लाइन भेट्टाउने छ । ४ दशकअघिसम्म भिखनाठोरी नेपालको ठोरी हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा नून, तेल तथा आवश्यकीय सामान ल्याउने मुख्य नाका थियो । अहिल्यै पनि ठोरी नाका निकै चल्तीमा छ ।

मुस्ताङः रुपन्देही जिल्लाको नेपाल–भारत(बेल्ही–सुनौली) नाकाबाट सुरु भएको राजमार्ग बुटवल, पोखरा, कुश्मा, बागलुङ, बेनी, जोमसोम, लोमान्थाङ हुँदै नेपाल–चीन सीमा स्तम्भ नं. २४ कोरोला नाका पुगेको छ । कोरोलाबाट तिब्वततर्फ लिजी हुँदै झोङ्बा सहर जोडिएको छ । झोङ्बा पुगेपछि चीनको जतासुकै जान सुगम छ । यो सडक ४ सय ४८ किमी लामो छ । बेनी–कोरोला खण्डमा कच्ची सडक छ भने बाँकी पक्की राजमार्ग छ । सवारी साधन सञ्चालनमा आइसकेको छ । यो सडकको अधिकतम उचाइ ४ हजार ८ सय ७१ मिटर भएकोले उपल्लो मुस्ताङको हिउँदे मौसममा हिउँ पर्ने र तल्लो म्याग्दी क्षेत्रमा वर्षायाममा बाढीपहिरो आउने हुँदा केही समय सडक अवरुद्ध हुनसक्ने सम्भावना देखिन्छ । पश्चिम नेपालमा चिनियाँ सामान सस्तो दरमा ढुवानी गर्न यो नाका निकै फाइदाजनक हुनसक्छ ।

मुगु नग्चाः नेपालगन्जबाट उत्तर लागेको सडक वीरेन्द्रनगर, दैलेख, मान्म, जुम्लाकोटदेखि सिनिया खोला हुँदै भैगाउँबाट गमगढी पुग्नसक्छ । दैलेखसम्म पक्की सडक बनिसकेको छ । त्यसपछि जुम्लाकोटसम्म कच्ची सडक रहेको छ । यहाँदेखि गमगढीसम्मको सडक निर्माणाधीन छ । गमगढीदेखि मुगु कर्णाली खोलैखोला मुगुगाउँको नेपाल–चीन सीमानाका नग्चासम्मको सडक प्रस्तावित अवस्थामा छ । नग्चा सीमाबाट तिब्बतको ह्याजिमाङ पुग्न २१ किमी पैदल हिँड्नुपर्छ । त्यसपछि ल्हासा राजमार्गमा रहेको होर्बा सहर पुग्न पैदल बाटो रहेको छ । होर्बा पुगेपछि व्यापारका लागि जताततै जान सडक सुविधा छ ।

नेपालगन्जबाट सीमानाका नग्चा पुग्न पक्की–कच्ची र प्रस्तावित सडकसमेत गरी करिब ३ सय ७४ किमी रहेको छ । सबैभन्दा अग्लो भूभाग ६ हजार ४ सय ९५ मिटर छ । गमगढीदेखि सीमासम्मको प्रस्तावित सडक निर्माण निकै कठिन अवस्थामा रहेको र लामो समय लाग्ने सम्भावना छ । यो सडक निर्माण पूरा भएपछि नेपालगन्ज–रुपैडिया सीमानाका चीनको ह्याजिमाङ सीमावर्ती क्षेत्रसँग जोडिने छ ।

हुम्लाः धनगढीबाट उत्तर सोझिएको सडक पक्की–कच्ची गरेर डडेलधुरानजिक हुँदै दिपायल, साँफेबगर, मार्तडीसम्म पुगेको छ । अब मार्तडीबाट कोल्टी, दमोलिगोठ र गोम्बा हुँदै सिमीकोटसम्म सडक निर्माण गर्नुपर्ने हुन्छ । सिमीकोटबाट चीनको सीमानाका हिल्सा जोड्न सडक रेखांकन गरिएको छ । हिल्साबाट तिब्बतकोे बजार शेरा १९ किमी टाढा छ । शेराबाट तिन्चु र कोक्र्याग हुँदै तिब्बतको पुरानो सहर ताक्लाकोट पुगिन्छ । ताक्लाकोटबाट मानसरोबर र राक्षस तालको बीच भएर ल्हासा राजमार्गको बागाग भेटिन्छ । चीनले हिल्सा सीमानाकासम्म नै पक्की सडक निर्माण गरिसकेको छ । हिल्साबाट सिमीकोटतर्फ पर्ने ९० किमी सडकमध्ये ४५ किमी निर्माण भई अरु काम अगाडि बढिरहेको छ । हिल्सा–धनगढी सडक मार्गको लम्बाइ लगभग ४ सय ७३ किमी हुनेछ । यस मार्गको सबैभन्दा अग्लो भाग हिल्सा ५ हजार ९२ मिटर अग्लो रहेको छ । यतिका उचाइबाट गुज्रने सडक भए तापनि हिउँद्मा समेत आवागमन गर्न खासै कठिनाइ पर्ने देखिँदैन । यो मार्ग निर्माण सम्पन्न भएपछि यसले चीनको ताक्लाकोटलाई भारतको गौरिफन्टा बजार जोड्ने छ ।

अन्त्यमा,

नेपाल र चीनबीच थप नाका खोल्न लागिएको उल्लिखित ७ नाकामध्ये सबैभन्दा छोटो र कम उचाइबाट गुज्रने सडक लामाबगर मार्ग नै हो । तर, पूर्वी नेपालको चीनसँग व्यापारिक प्रयोजनका निम्ति किमाथांका मार्ग फाइदाजनक देखिन्छ । यसले नेपालका धेरै व्यापारिक बजारलाई छुँदै भारतको ब्रोडगेज रेलवे स्टेसन जोगबनीलाई जोडेको छ । पश्चिम नेपालका लागि मुस्ताङ मार्ग नै बढी फाइदाजनक देखिन्छ । यो सडकमा यातायातका साधन चल्न सुरु भइसकेको छ । अहिले भारतले नाकाबन्दी गरिरहेका बेला चीनतर्फबाट यसै मार्ग भएर इन्धन, पेट्रोल, ग्यास तथा अन्य सामान सस्तो ढुवानीमा जोमसोम, बेनी, बागलुङ ल्याउने गरिएको छ । स्मरणीय छ, कोदारी–खासा र रसुवागढी–केरुङ नाका औपचारिक व्यापारिक नाकाका रूपमा रहेका छन् भने मुस्ताङ नाकाबाट अनौपचारिक व्यापार गर्ने गरिएको छ ।

गोरखा लार्केको सामागाउँ र छेकम्पार उत्तरको नाका स्थानीय सर्वसाधारणका निम्ति उपभोग्य सामग्री खरिद गर्न तिब्बती बजार आउजाउ गर्न सुगम छ । तिब्बतको स्थानीय सरकारले हरेक वर्ष दुईपटक करिब एक महिनाका लागि नाका खोल्ने गर्छ । यसपटक पनि असोज–कात्तिक महिनाका लागि खुलेको छ । सुदूर पश्चिमका लागि हुम्ला मार्ग उपयोगी हुनसक्छ । यो सडक तिब्बतको पुरानो बजार ताक्लाकोटसँग जोडिएको छ । अहिले नाकाबन्दीको समयमा ताक्लाकोटबाट पेट्रोलियम पदार्थ तथा आवश्यकीय दैनिक उपभोग्य सामान सडक मार्ग तथा पैदलै सिमीकोटतर्फ ल्याइने गरेको छ । सिमीकोट सडक निर्माण कार्य अघि बढाउन चाहिने डिजेल चीनले दिँदै आएको छ ।

ओलाङचुङगोला सडक नेपालको सुदूर पूर्व–उत्तर भेगका जनताका निम्ति तिब्बतबाट अत्यावश्यकीय सामान ल्याउन र स्थानीय उत्पादन तिब्बती बजार पु¥याउन सजिलो पर्छ । तर, यसको महŒव किमाथांका र लामाबगर सडकभन्दा कम रहेको छ । मुगुबाट खोलिने नाका मध्यपश्चिमाञ्चल क्षेत्रका निम्ति लक्षित भए पनि कठिन मार्ग भएकोले चाहेजति मात्रामा उपयोग र प्रयोगमा आउन सक्ने देखिँदैन । यस क्षेत्रका वासिन्दाले हुम्ला मार्गबाटै फाइदा लिन सक्छन् ।

उल्लिखित नाका खोल्ने कुरा आफ्नै ठाउँमा छ । तर, नेपाल आत्मनिर्भर नभएसम्म जनताका लागि आवश्यक पर्ने इन्धन तथा आवश्यकीय सामग्री दक्षिणी तथा उत्तरी छिमेकी देशबाट प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गर्ने रणनिति अपनाउनु आवश्यक छ । विद्यमान परिस्थितिमा उत्तरी नाका खोल्नु आवश्यकै परेकोले खोल्नुपूर्व सुख्खा बन्दरगाह, क्वारेन्टाइन, अध्यागमन, भन्सार, प्रहरी चौकीजस्ता पूर्वाधारका संरचना निर्माण गरिनुपर्छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर